सुष्माको ‘बधाई कार्ड’ सँगै नेपाललाई भारतको ‘आकर्षक प्याकेज’

0
38

नयाँ दिल्लीः भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँमा ओर्लेर नेपाली नेताहरुलाई फकाउन ‘बधाई’ को कार्ड फाल्न ब्यस्त भएका बेला भारत सरकारले बजेटबाट पनि नेपाललाई फकाउने कोशिश गरेको छ ।

सबैभन्दा धेरै सहयोग गर्दै आएको भुटानतर्फको ९ प्रतिशत बजेट कटाएर नेपालतर्फ भारतले दोब्बर सहयोग बढाएको हो । भारत सरकारले नेपाललाई दिँदै आएको आएको ऋण तथा अनुदान सहयोग झण्डै दोब्बरले बढाएको हो ।

जेट्लीले विहीबार सार्वजानिक गरेको आर्थिक वर्ष २०१८–१९ को बजेटमा दक्षीण एशियातर्फ छुट्याइएको ऋण तथा अनुदान सहयोग रकममा नेपालका लागि ६ सय ५० करोड बराबरको रकम विनियोजन प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्षमा यो रकम ३ सय ७५ करोड रहेको थियो । गत वर्ष ६ प्रतिशतमा रहेको रकम यस वर्ष झण्डै १२ प्रतिशत पुरयाइएको छ । यो रकम भारतले दक्षिण एशियाकालागि छुटयाएको ५ हजार ९ सय ८५ करोडबाट छुटयाइएको हो ।

गत वर्षको बजेटमा दक्षिण एशियाकालागि ५ हजार ७४ करोड बराबरको रकम विनियोजन गरिएको थियो । भारतले दक्षिण एशियाली मुलुकहरुमा भुटानलाई सबैभन्दा ठूलो रकम दिँदै आएको छ ।

भुटानका लागि समग्र बजेटको ४८ प्रतिशत रकम छुटयाइएको छ । यद्यपि गत वर्षको तुलनामा यो रकम ९ प्रतिशतले घटाइएको हो । भारतले विदेशी ऋण तथा अनुदानको प्राथमिकतामा नेपाल दोश्रो नम्बरमा रहँदै आएको छ ।

भारतको विदेशी अनुदान सहयोग रकममा दक्षिण एशियाली मुलुकहरुको हिस्सा ६६ प्रतिशत हुनेछ । पछिल्लो तीन वषदेखि भारतको बजेटमा लगातार यो सहयोग राशिमा गिरावट आएको छ ।

यो रकम भारतको विदेश मन्त्रालय , गुहमन्त्रालय तथा वित्त मन्त्रालयबाट खर्च गरिनेछ । नेपालमा वाम गठबन्धनको सरकारसँग अािर्थक सहकार्य गर्ने रणनीति अनुरुप यो सहयोगको रकम बढाइएको विश्लेषण गरिएको छ ।

सहयोग राशी बढाउनुको पछाडि भारतले मुख्यता दुई तीनवटा कुरालाई ध्यानमा राखेको देखिन्छ । पहिलो नेपालमा संघीयता लागू गर्न नेपाललाई आगामी दिनमा ठूलो रकमको आवश्यकता पर्ने निश्चित छ । आक्रामक शैलीमा आर्थिक सहयोग बढाएको चीनको वार्षिक बजेटमा संघीयताका लागि कुनै बजेट नछुटाइएको हुँदा भारतले यो क्षेत्रमा सहयोग गर्ने रणीनीति अख्तियार गरेको हो ।

‘राजनीतिक स्थायित्व तथा आर्थिक सबलता नेपालमा भयो भने भारतको सुरक्षा चासोको विषयलाई नेपालले स्वत व्यवस्थित गर्न सक्ने भारत सरकारको बुझाइ हुनुपर्छ । त्यसैले भुटानलाई दिने रकम घटाएर त्यसलाई नेपालमा जोडिएको छ’, रक्षा मन्त्रालय अन्तर्गत रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए) सँग सम्बद्ध तथा नेपाल जानकार डा. निहार नायक भन्छन्,‘‘त्यसैगरी नेपालको संस्थागत क्षमता विकासमा ध्यान केन्द्रित गरेको हुँदा सहयोगका रकमलाई त्यसतर्फ खर्च गर्न पनि बजेट बढाइएको छ ।’

तेश्रो र महत्वपूर्ण कुरा उल्लेख गर्दै उनले बजेट विनियोजन प्रस्तावले तत्काल दुई मुलुकका सरकार प्रमुखहरुको उच्च राजनीतिक भ्रमण हुने निश्चित देखिएको बताए ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा गए पनि अथवा भावी प्रधानमन्त्री ओली भारत भ्रमणमा आए पनि भारत सरकारले नेपाललाई दिने ‘आइक्याचिङ’ सहयोगका लागि पनि रकम विनियोजन गरिएको हो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडाँै पुग्दासम्म भारतीय वित्त मन्त्री अरुण जेट्लीले नेपालका लागि आर्थिक सहायता दोब्बर बनाएको घोषणा गरिसकेका थिए । नेपालसँगको सम्बन्ध सुधारका लागि भारत सरकारको नियोजित योजना अनुरुप नै आर्थिक सहायता बढाइएको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here