‘गाँजाको परम्परागत ज्ञान विदेशीको हातमा जान सक्छ’

0
7

अमेरिकी तथा युरोपेली देशमा गाँजाको वैधानिक प्रयोग बढ्न थालेपछि नेपालको परम्परागत ज्ञान विदेशी कम्पनीको हातमा जाने अवस्था आएको छ।

यहाँ सदियौंदेखि गाँजाको आयुर्वेदिक ओखती प्रयोग हुँदै आएको थियो। सिंहदरबार वैद्यखानादेखि पुस्तैनी वैद्यहरूले समेत ती औषधि चलाउँथे। सन् १९७० दशकमा अमेरिकी दबाबले गाँजा प्रतिबन्धित भएपछि औषधि उत्पादन हुन छाडे। आयुर्वेदिक अनुसन्धान पनि बन्द भयो।

वैज्ञानिक अनुसन्धानले नै औषधीय गुण पुष्टि गरेपछि संसारभरि गाँजा खुला गर्ने होड छ। नेपालले भने करिब ४५ वर्षदेखि प्रतिबन्ध गरेर न आफ्नो परम्परागत ज्ञान प्रयोगमा ल्यायो, न परिस्कृत हुने मौका दियो। यही अवस्था रहे गाँजाबाट बन्ने आयुर्वेदिक औषधि उत्पादनको बौद्धिक अधिकार विदेशी कम्पनीको हातमा जाने अनुसन्धानकर्ता बताउँछन्।

‘गाँजालाई औषधिका रूपमा प्रयोग गर्ने हाम्रो परम्परागत ज्ञान विदेशीले अपनाउन थालिसके। भोलि हामी उनीहरूले नै बनाएका औषधि किन्छौं, हाम्रो ज्ञान त्यसै मासिन्छ,’ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्ष डा. ऋषिराम कोइरालाले सेतोपाटीसँग भने, ‘यो अवस्था आउनुअघि नै हामीले आफ्नो परम्परागत ज्ञान सुरक्षित राख्नुपर्छ।’

स्वास्थ्य मन्त्रालय मातहतको यो संस्थाले आयुर्वेदमा अध्ययन–अनुसन्धान गर्छ। केन्द्रसँग गाँजाबाट औषधि बनाउने परम्परागत अनुभव र ज्ञानको कमी छैन। कानुनी बन्देजले यसमा अघि बढ्न नसकेको उनी बताउँछन्।

‘सरकारले अनुमति दिए गाँजाको आयुर्वेदिक प्रयोगमा थप अनुसन्धान गरेर परिस्कृत गर्न सकिन्छ,’ स्वास्थ्य अनुसन्धान परिषदका पूर्व उपाध्यक्षसमेत रहेका डा. कोइरालाले भने, ‘यसले अरू सम्भावनाका ढोका खोल्न सक्छन्।’

उनका अनुसार झाडापखाला, अनिद्रा, शारीरिक पीडा, मानसिक तनाव लगायतमा गाँजाको औषधि ‘अचुक’ हुन्छ। क्यान्सरको दुखाइ कम गर्न पनि यसले राम्रो काम गर्छ।

‘गाँजा प्रकृतिको वरदान हो। यसको बहुउपयोगी औषधीय गुणमा कुनै शंका छैन। बित्थामा प्रतिबन्ध गरेर हामीले लाभ लिन सकेनौं। प्रकृतिको वरदान हाम्रो गल्तीले अभिशाप भयो,’ डा. कोइरालाले भने, ‘अथर्वेदले समेत गाँजालाई मान्छेको पीडा हटाउने जडिबूटी भनेको छ। यो मानव सभ्यताकै पुरानो खेती मानिन्छ।’

केन्द्रका प्रमुख अनुसन्धान अधिकृत डा. मिथिलेशकुमार साह पनि गाँजाको आयुर्वेदिक अनुसन्धान अघि बढाउनुपर्ने खाँचो औंल्याउँछन्।

‘हाम्रै ज्ञानबाट अरू मुलुकले फाइदा लिन थालेका छन्, हामी पछि पर्नु हुन्न,’ उनले भने, ‘यो हाम्रो बौद्धिक सम्पत्ति हो, समयमै जोगाउन सकेनौं भने विदेशीका हातमा जाने डर छ।’

उनका अनुसार भोक जगाउन ‘दीपनपाचन’, श्वासप्रश्वास समस्या भएकालाई ‘स्वासहर’ र शरीर सुन्निने समस्यामा गाँजाको औषधि दिने गरिन्थ्यो। बिरामी लठ्याउन वा पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजा प्रयोग हुन्थ्यो। यी सबै परम्परागत ज्ञानमा आधारित छन्। यसलाई परिस्कृत तुल्याउन थप अध्ययन-अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।

‘अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गाँजाका नयाँ–नयाँ औषधि प्रयोगमा आएका छन्,’ उनले भने, ‘खेती, भण्डारण र उत्पादनअनुसार औषधीय गुण अलग हुन सक्छ। सरकारले स्पष्ट नीति लिएर जिम्मा दिए हामी अनुसन्धान गर्न सक्छौं।’

अन्तर्राष्ट्रिय अध्ययनले ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ताको उपचारमा गाँजा सहयोगी हुने निष्कर्ष निकालेको छ। शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ।

अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको शोधमा गाँजा सेवन गर्नेको यौन क्षमता नगर्नेको तुलनामा बढी हुने पाइएको थियो। नेपालमै पनि शीघ्रस्खलन रोक्न गाँजाको कणयुक्त ‘पूर्णचन्द्रोदय रस’ वैद्यखानाले धेरैअघि उत्पादन गर्थ्यो। वैद्यखानाले नै उत्पादन गर्ने ‘भोग सुन्दरी’ भायग्राजस्तै यौनशक्ति बढाउने आयुर्वेद औषधि थियो।

केन्द्रका बोर्ड सदस्य डा. शंकर गौतम विदेशीले गाँजाको औषधीय गुण बुझेर प्रयोग खुला गर्दा नेपाल चुप लागेर बस्न नहुने बताउँछन्।

‘अन्तर्राष्ट्रिय स्तरमा यही रफ्तारले गाँजा अनुसन्धान हुँदै गए हामीले आफ्नै आयुर्वेदिक ज्ञान गुमाउनुपर्ने छ,’ उनले भने, ‘यथाशीघ्र कदम चाल्नुपर्छ।’

उनका अनुसार गाँजाबाट के–के फाइदा हुन सक्छन् भन्ने विस्तृत अध्ययन भएकै छैन। कुन–कुन रोगमा प्रयोग गर्न सकिन्छ भन्ने पनि राम्ररी थाहा छैन। सरकारले अनुमति दिए वैद्यखानासँग सहकार्य गरेर वैज्ञानिक अनुसन्धान गर्न सकिने उनले बताए।

‘हामीसँग भएको गाँजाको आयुर्वेदिक ज्ञान पूर्ण रूपमा विदेशी कम्पनीको हातमा जानुअघि यसको पेटेन्ट सुरक्षित राख्न पहल गर्नुपर्छ,’ डा. गौतमले भने, ‘यसका लागि बृहत अनुसन्धानको खाँचो छ।’

गाँजा औषधिका रूपमा मात्र नभई आम्दानी स्रोत पनि भएकाले प्रतिबन्ध पुनर्विचार गर्नुपर्ने अनुसन्धानकर्ताको भनाइ छ।

‘गाँजा मासिँदा औषधीय लाभ त मासिन्छ नै, यसबाट बन्ने कपडा पनि मासिन्छ, आम्दानी पनि मासिन्छ,’ डा. कोइरालाले भने, ‘गाँजा खेती हुँदा मध्यपश्चिम पहाडको जीवनशैली उक्सिएको थियो। प्रतिबन्ध लगाएपछि सबै भताभुंग भयो।’

दोस्रो विश्वयुद्ध समयदेखि नै नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरुआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यतिबेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान झोँछे र असनका पसल आइपुग्थे।

नेपालमा गाँजा फस्टाएपछि नै सरकारले अमेरिका लगायत राष्ट्रसंघीय दबाबमा लागुऔषध ऐन जारी गरी गाँजा प्रतिबन्ध गरेको हो। त्यही प्रतिबन्धले गाँजासम्बन्धी सामाजिक विकृति बढेको कोइराला बताउँछन्।

‘गाँजा नेपाली जीवनको एउटा पाटो थियो। औषधि थियो, प्रसाद थियो, आम्दानी थियो। यसलाई हामीले व्यवस्थित रूपमै चलाइरहेका थियौं। एक्कासि बन्द गर्दा मान्छे आत्तिए। गाँजा खोज्दै हिँड्न थाले। गँजेडी भन्ने हामीकहाँ छँदै थिएन। यो त प्रतिबन्धपछि आएको शब्द हो। हाम्रो निम्ति त गाँजा विश्वमा चिनाउने माध्यम थियो,’ उनले भने।

यति हुँदाहुँदै गाँजा जति खाए पनि हुन्छ भन्ने होइन।

गाँजा सोझै सेवन गर्दा हृदयगति बढ्ने, धुवाँले श्वासप्रश्वासमा असर गर्ने र शारीरिक गतिविधिमा प्रभाव पर्ने देखिएको छ। कसैकसैमा हृदयाघात पनि गराएको छ। ‘युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजी’ को अध्ययनअनुसार सिधै गाँजा खानेलाई उच्च रक्तचापको जोखिम हुन्छ। गर्भावस्थामा खाँदा बच्चाको तौल कम हुने देखिएको छ।

थुप्रै शोधको निष्कर्षअनुसार गाँजाले त्यतिबेला मात्र सकारात्मक प्रभाव पार्छ, जब यसको प्रयोग नियन्त्रित र सही परिमाणमा हुन्छ। यही कारणले नयाँ अनुसन्धान गरी थप फाइदा–बेफाइदा थाहा पाउनुपर्ने साह बताउँछन्।

‘सबै जडिबुटीमा औषधीय गुण पनि हुन्छ, विषालु पनि हुनसक्छ। यस्ता औषधीजन्य जडिबुटीको विष कसरी मार्ने, कति मात्रा मिलाउने र अन्य जडिबुटीसँगको प्रतिक्रिया कस्तो हुन्छ आयुर्वेदले प्रस्ट भनेको छ। त्यहीअनुरूप अध्ययन गरी औषधि बनाउन सकिन्छ,’ उनले भने।

आयुर्वेदको मान्यताअनुसार कुनै पनि तत्व मात्रा, उद्देश्य र प्रयोग मिलाएर खायो भने औषधि हुन्छ, नभए विष। गाँजा त्यस्तै हो।

अमेरिकी, युरोपेली लगायतका देशले गाँजा खुला गरे पनि धेरै सीमा छन्। जति पायो त्यति किन्न पाइँदैन। जुनसुकै ठाउँबाट जोसुकैसँग किन्न पाइँदैन। गाँजा किन्ने व्यक्तिको उमेर हद पनि तोकिएको छ।

क्यानडाले अबको छ महिनामा गाँजा प्रयोग वैधानिक गर्दैछ। केन्द्रीयदेखि प्रान्तीय सरकार गाँजा बजार सञ्चालन र नियमन खाकामा छलफल गर्दैछन्। उनीहरूले अपनाएका नीति हाम्रा निम्ति सहयोगी हुनसक्ने डा. गौतम बताउँछन्।

‘हामी पनि उनीहरूले जस्तै तयारी गर्न सक्छौं,’ उनले भने, ‘थप औषधीय गुणमा अनुसन्धान गर्न सक्छौं। औषधि बनाउन सक्छौं। बिरामीमा परीक्षण गर्न सक्छौं। नीति सरकारले बनाउने हो। यो काम जतिसक्दो चाँडो भए सदियौंदेखिको हाम्रो परम्परागत ज्ञान हाम्रै नाममा सुरक्षित रहन्थ्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here