सिमा बचाउ अभियान अगुवा यादवलाई भारतीय जेलबाट छुटाउने प्रक्रिया सुरु

0
98

आश्विन १७, २०७४-कोइलाडी तिलाठी गाउँपालिका–२ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन सप्तरी प्रशासनले प्रक्रिया सुरु गरेका छन् ।

भारतको सुपौलजिल्लास्थित कुनौली थानामा मंगलवार भारतीय र नेपालका अधिकारीहरुबीच छलफल गरी छोटोरुपमा कानूनी प्रक्रिया पूरा गरी देवनारायण र उनका छोरालाई छुटाउने प्रक्रिया सुरु गरिएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले आफू भारतको कुनौली थाना पुगेर सुपौलको सुरक्षा अधिकारीसँग कुरा गरेर देवनारायण र उनको छोरालाई छुटाउने प्रक्रिया सुरु गरेको बताए ।

‘कुनौली थानामा आफै पुगेर प्रतिबेदन तयार गराएर आएकोले बुधवारसम्ममा देवनारायण छुट्नेछन्,’ उनले भने, ‘उनको छोराको रिहाईमा केही समय लाग्न सक्छ ।’ तर दुबै जनालाई छिटो भन्दा छिटो छुटाउन ज्योती कुमारीको आफन्तलाई भेटेर उनको उमेरको प्रमाण थानामा बुझाएको उनले बताए ।

ज्योती कुमारीको आधार कार्डबाट उनको उमेर १८ बर्षभन्दा बढी रहेकोले उनीहरुलाई छुटाउन सहज भएको प्रजिअ पाण्डेले बताए । भारतीय सुरक्षाअधिकारीले ज्योतीको बयानपछि छुटाउन सहज हुने भनेकाले मंगलबार ज्योतीलाई बीरपुर न्यायालय पठाइएको उनले बताए ।

प्रजिअ पाण्डेले देवनारायण र उनका छोरा अजयलाई मंगलवार भारतको बीरपुर न्यायालयमा हाजिर गराएको बताए ।

उनले भारतको बीरपुर न्यायालयमा बयान लिने एउटा र आदेश गर्ने अर्कै न्यायाधीस हुने गरेको र मंगलवार बयान लिने न्यायाधीस मात्रै उपस्थित रहेकोले मंगलबार छुट्न नसकेको बताए । बुधबार यादव छुट्ने सम्भावना रहेको उनले बताए ।

भारतको कुनौली १ का ज्योती कुमारीलाई देबनारायणका छोरा अजयले भगाएर प्रेम विवाह गरेकोले ज्योतीको परिवारजनले अपहरण मुद्दा दिएको छ ।

बीरपुर अदालतमा देबनारायण, उनका छोरा अजय, दीपककुमार यादव र ननु यादवविरुद्ध मानव अपहरण मुद्दा दर्ता छ ।

भारतको कुनौली १ का संजीब कुमार साहले आफ्नी बहिनी ज्योती कुमारीलाई देबनारायण, उनका छोरालगायतले अपहरण गरेको भन्दै कुनौली थानामा जाहेरी दिएको आधारमा देवनारायण र उनको छोरालाई कुनौली प्रहरीले आइतवार पक्राउ गरी सोमबार जेल चलान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here